समाचार
पर्यटकीय स्थल झाँक्रीपानीमा भ्यूटावर निर्माण
मंगला गाउँपालिकाको पर्यटकीय स्थल झाक्रीपानीमा भ्यूटावर निर्माण गरिएको छ । पर्यटकीय गन्तव्यका रुपमा विकास हुन लागेको वडा नम्बर ३ स्थित बरंजाको झाक्रीपानीमा गाउँपालिकाले भ्यूटावर सहित अन्य पूर्वाधार निर्माण गरेको हो । गाउँपालिकाको रु ११ लाख, प्रतिनिधि सभा सदस्य भुपेन्द्र बहादुर थापाको सिफासिरमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत रु १० लाख र स्थानीयको ६ लाख बराबरको श्रमदानमा तीनतले भ्यू टावर निर्माण गरिएको छ । यहाँबाट संसारको सातौं अग्लो धौलागिरि हिमालसहित गूर्जा, निलगिरी, अन्नपूर्ण, माछापुच्छे, मानापाथी लगायतका दर्जन बढी मनोरम हिमश्रृङ्खलाहरुको प्रत्यक्ष अवलोकन गर्न पाइने छ । यहाँ गुराँस फुल्ने सिजनमा राताम्मे लालिगुरास र हिमालहरुको दृश्यालोकन निक्कै आकर्षक देखिन्छ । पर्यटकीय महत्व बोकेको झाँक्रीपानीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्ति गरि भ्युटावर, होमस्टे निर्माण संगसंगै स्थानीय ५४ कुरिया मगरहरुको मौलिक लोक संस्कृतिको संरक्षण तथा उत्थान सुरु भएको छ ।झाँक्रीपानीमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाईलाई सहज बनाउन झाँक्रीपानीमा होमस्टे निर्माण हुन लागेको छ । यसैगरी झाँक्रीपानीमा आउने पाहुनालाई स्वागत गर्न स्थानीय ५४ कुरिया मगरहरुको मौलिक संस्कृति तथा भजनको उत्थान र प्रचारप्रसारका लागि स्थानिय सुरक्षित मातृत्व आमा समूह जुटेका छन् ।